
अविरल वर्षाका कारण आएको बाढीले काठमाडौँका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने भएको छ ।
खानेपानी मन्त्री प्रदीप यादवले बाढीले क्षति पुर्याएका ठाउँमा आज अनुगमन तथा निरीक्षण गर्नु भई खानेपानी आपूर्तिका लागि आवश्यक कार्य गर्न निर्देशन दिए अनुसार काम अगाडि बढेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिनुभयो ।
उहाँले सोमबारसम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गर्ने बताउनुभयो । भूमिगत पानीका धेरै पम्प हाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानी मात्रै वितरण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
यसैगरी, ललितपुरको फर्पिङ जलविद्युत् गृहबाट फर्पिङ पम्पिङ स्टेसनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानी आपूर्ति असहज भएको पौडेलले बताउनुभयो ।
काठमाडौँको महाङ्काल चौरको पम्पिङ सिस्टम क्षतिग्रस्त भएकाले मर्मत सम्भारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।
विद्युतीय उपकरणमा समस्या आएका कारण पूर्ववत् अवस्थामा नियमित पानी आपूर्तिमा समस्या भएको जनाइएको छ ।