ललितपुर, असोज १४ :

अविरण वर्षासँगैको विपद्मा परी ललितपुरमा हालसम्म ३० जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार खोज तथा उद्धारका क्रममा शनिबार २० र आज  १० जना गरी  ३० जनाको शव फेला परेको हो । 

शवलाई आनन्दवन अस्पताल, चापागाउँ र पाटन अस्पताल लगनखेलमा राखिएको उहाँले जानकारी गराउनुभयो । खोजतलासका क्रममा आज नेपाल प्रहरीले ललितपुर महालक्ष्मी- ८ शङ्खादेबी बस्ने ५६ वर्षीया लीला थापाको शव फेला पारेको छ । 

त्यस्तै, झापा घर भई बैभब पावर नेपाल प्रालिको स्टोरमा काम गर्ने २८ वर्षीय सुवास पाण्डेको शव ललितपुर महानगरापालिका- ३ मनमोहन पार्कमा फेला पारेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । 

महालक्ष्मी नगरपालिका- ९ लुभू खोलाको छेउमा पहिरोमा बेपत्ता भएका सुर्खेत घर भई हाल लुभू बस्ने २४ वर्षीया हरिकला थापा मगर, निजको छोरी ३० महिनाकी सिम्रिका थापा मगर र निजको ससुरा ५० वर्षीय शिव थापा मगरको शव फेला परेको छ ।

त्यस्तै, बागमती गाउँपालिका- ५ भालुखोला बस्ने ६४ वर्षीया माइली श्रेष्ठ, गोदावरी नगरपालिका- ७ देवीचौर छोटेडाँडामा ४५ वर्षीय जयमान न्यासुर तामाङ, ४० वर्षीया कान्छीमाया तामाङ, २० वर्षीया बात्सल्या तामाङ र नाम नखुलेकी दुई महिनाकी बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । एकै परिवारका उनीहरू पुरिएको अवस्थामा फेला परेका थिए । 

शनिबार भएको खोज तथा उद्धारका क्रममा ललितपुरको गोदावरी नगरपालिका- १० टाखेल निवासी ५८ वर्षीया सानु चालिसे र गोदावरी- ९ चुनिखेल घर भई हाल सोही ठाउँ बस्ने वर्ष ४८ वर्षीया सुशीला लिम्बूको शव भेटिएको प्रहरीले जनाएको छ । 

यस्तै, महाङ्काल गाउँपालिका- ३ माथिल्लो गोटिखेल निवासी राजकुमार सिङ्तानको घर पुरिँदा निजका दुई वर्षीय छोरा संयम सिङ्तानको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका- ९ छम्पीस्थित भैँसेपाटी- टीकाभैरव सडकमा माथिबाट पहिरो खस्दा बाटो अवरोध भएको र सोही स्थानमा सिन्धुली घर भई हाल सोही स्थानमा टहरो बनाई बस्ने ४२ वर्षीया सुनिता तामाङको पुरिएर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

गोदावरी नागरपालिका- ३ मा ३५ वर्षीय पवन नगरकोटीको टहरो माथिबाट पहिरो झर्दा पवन र निजकी २० वर्षीया छोरी मेन्सिलाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका- २५ तालिम केन्द्र नजिक ६६ वर्षीया ताराराज कनिकाको घरमाथिबाट आएको पहिरोले बगाएर मृत्यु भएको छ । 

महालक्ष्मी नगरपालिका- ९ सिस्नेरी ठकुरीगाउँकी ३५ वर्षीया रीना महिमकर्मी श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । सोही ठाउँको सिस्नेरी खोलामा बस्ने ४४ वर्षीय रवीन भुजेलको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, ललितपुर महानगरपालिका- १४ कान्तिपुर कोलोनीमा रौतहटका २७ वर्षीय नन्दु साहको नख्खु खोलाले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका- ८ शङ्खादेवीमा पहिरोमा पुरिएर घाइते भएकी ६१ वर्षीया राधिका थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कोन्ज्योसोम गाउँपालिका- ३ दलचोकीमा पहिरोका कारण एकै परिवारका २२ वर्षीया सुम्निमा घलान र १५ वर्षीय समीर घलानको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका- ५ लेले महतगाउँमा पहिरोले ३८ वर्षीया शर्मिला महतको मृत्यु भएको पुष्टि भएको छ । गोदावरी नगरपालिका- ७ देवीचौरमा पहिरोले अनिल रुम्बा गोठ पहिरोले पुरिन जाँदा हाल नाम वतन नखुलेका करिब ३० वर्षीय शेर्पा भन्ने व्यक्तिको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताउनुभयो । 

यस्तै, गोदावरी नगरपालिका- ६ टिकाभैरवमा पहिरोमा परी ५० वर्षीय भाइकृष्ण खड्का तथा सोही वडाका एकै घरका ५५ वर्षीय प्रलाद थापा र ३० वर्षीय सुमन थापा, बागमती गाउँपालिका-१ घुसेलमा पहिरोका कारण ५० वर्षीय केशव न्यौपाने, गोदावरी नगरपालिका- १० न्यौपानेगाउँस्थित एससिआरसी होस्टेल पछाडि पहिरो जाँदा होस्टेलमा बस्ने ७ वर्षीय सुजन राईको मृत्यु भएको छ ।

ललितपुरमा अझै सात जना बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।