
धादिङ, असोज १४ :
काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनीबेँसी नगरपालिका- ९ झ्याप्ले खोलामा सडकको पहिरो हटाइएको छ ।
पहिरो हटाइएपछि ४८ घण्टापछि उक्त क्षेत्रको सडक दुईतर्फी खुलेको छ ।
पहिरो पन्छाएसँगै त्रिभुवन राजपथ अन्तर्गतको उक्त सडक दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
पहिरो हटाएपछि दुई दिनदेखि बाटोमै थन्किएका सयौँ सवारी साधन आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको उहाँले बताउनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयवासी, यात्रु लगायतको पहलमा अवरुद्ध सडक खुलाइएको हो ।
शनिबार उक्त स्थानमा तीनवटा सवारी साधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधनबाट ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।