रामेछाप, असोज १५ :

सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली- पकरवास- भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सुचारु भएको छ । 

मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास- भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोट सम्मको आवागमन सुचारु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

खुर्कोटको पुल बाढीले बगाएपछि मन्थली- पकरवास- भीरपानी सडकखण्ड सुचारु गर्न जिल्लास्थित सरोकारवालाले पहल थालेका थिए । मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन सुचारु भएपछि तराइका जिल्लासँग यातायातको माध्यमबाट सम्पर्क पुनःस्थापित भएको छ 

आइतबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले खुर्कोटको पुल बगाएसँगै जिल्लामा यातायात सुचारु गराउन वैकल्पिक सडक मन्थली- पकरवास- भिरापनी- सित्खा सडक तत्काल मर्मत गरी सञ्चालन गर्ने निर्णय गरेको थियो । 

सडक सुचारु गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीय र गाउँपालिकाको टोली आइतबार साँझ अबेरसम्म खटिएका थिए । यसैबीच यातायात सेवा अवरुद्ध भएपछि तारा एयरले आइतबार देखि दैनिक मन्थली- काठमाण्डौ उडान सुरु गरेको छ । 

बाढीपहिराका कारण सदरमुकाम मन्थली लगायतका अधिकांश ठाउँमा विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानी सेवा अझै अवरुद्ध छन् ।