काठमाण्डौँ , असोज १५ :

काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ ।

विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरण अनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घीय राजधानी काठमाडौँका विभिन्न जल मापन केन्द्रहरूले रेकर्ड गरेको तथ्याङ्क अनुसार  हालसम्मकै धेरै पानी परेको उल्लेख छ । 

विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार वर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । 

नेपालमा वर्षा मापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा दुई सय छ दशमलव छ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

काठमाडौँ विमानस्थलको वर्षा मापन केन्द्रले दुई सय ३९ दशमलव सात मिलिमिटर वर्षा भएको जनाएको छ । 

बुढानिलकण्ठमा एक सय ७८ दशमलव तीन मिलिमिटर, जितपुर फेदीमा एक सय ७८ दशमलव तीन मिलिमिटर, नागार्जुनमा दुई सय पाँच दशमलव चार मिलिमिटर वर्षा भएको मापन गरिएको छ । 

ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ वर्षा मापन केन्द्रले पनि रेकर्ड ब्रेक गर्ने वर्षा भएको मापन गरेको छ ।

भक्तपुरको नखेल वर्षा मापन केन्द्रले एक सय ९४ दशमलव पाँच मिलिमिटर वर्षा भएको मापन गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आशिंक देखि साधारणतया बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागमा एक दुई स्थानमा हल्का वर्षा हुनेछ । 

कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ । 

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।