
वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्याएको छ ।
गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा झोलुङ्गे पुलमा क्षति भएको हो ।
सिन्धुलीको सुनकोशी गाउँपालिका- १ खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिका- १ लुगी जोड्ने पक्की पुल पूर्ण रुपमा बगाएको सुनकोसी- १ का वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुशेश्वर दुम्जास्थित खैरनीघाटको पुल रोशी र सुनकोसी नदीमा आएको बाढीले बगाउँदा खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका र मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रीलाई सास्ती भएको छ ।
खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङले पक्की पुलसँगै सुनकोसी- ५ रामटारबाट खाँडादेवी- ३ सित्खा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको बताउँदै सुनकोसीबाट खाँडादेवी जोड्ने बेलघारी झोलुङ्गे पुल र चैनपुरबाट पुछिघाट जोड्ने झोलुङ्गे पुल पूर्ण रुपमा क्षति भएको जानकारी दिनुभयो ।
यी पुलमा क्षति हुँदा सिन्धुलीसँगको सम्पर्क टुटेको उहाँले बताउनुभयो ।
रामेछापलाई सिन्धुलीसँग जोड्ने एउटा पक्की र एउटा झोलुङ्गे पुल बाढीले पूर्ण रुपमा बगाएको छ । दुई वटा झोलुङ्गे पुल आवतजावत गर्न नमिल्ने गरी क्षति भएका छन् । यसले खाँडादेवीबाट नियमित सिन्धुली पढ्न जाने ३५ जना विद्यार्थीको पठनपाठन प्रभावित बनेको उहाँले जानकारी दिनुभयो ।
सिन्धुली आउन प्रयोग गर्दै आइएको पुल बाढीले बगाउनुका साथै नदीमा पानीको बहाव ठूलो भएकाले समस्या सिर्जना भएको छ।
यसैगरी, गोलञ्जोर गाउँपालिका, सिन्धुली र मन्थली गाउँपालिका, रामेछाप जोड्ने दुई वटा पुल बगाएको छ । गोलञ्जोर- ७ खुर्कोटस्थित एउटा पक्की र एउटा झोलुङ्गे पुल सुनकोसीमा आएको बाढीले बगाएको हो ।
मन्थलीतर्फ पक्की पुलको एउटा स्पान बगाएको र सोही पुल नजिकै रहेको झोलुङ्गे पुल पूर्ण रुपमा बगाउँदा रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बुसँगको सम्पर्क टुटेको गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
बाढीले पुल बगाउँदा रामेछापबाट आउने तरकारी तथा फलफूल ल्याउन नसकिँदा खुर्कोट बजार क्षेत्रमा ताजा तरकारीको अभाव भएको होटल व्यवसायीले बताएका छन् । जताततै सडक अवरुद्ध हुँदा होटल व्यवसाय समेत ठप्प भएका छन् ।
फिक्कल गाउँपालिका, सिन्धुली अन्तर्गत रहेका दुई वटा झोलुङ्गे पुल पूर्ण रुपमा बगाएको छ भने तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष राज बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार फिक्कल- ४ खाङ्साङबाट चम्पादेवी गाउँपालिका- १ ओखलढुङ्गा जोड्ने र फिक्कल-६ सुनकोसी गाउँपालिका-१ ओखलढुङ्गा जोड्ने पुल पूर्ण रुपमा बगाएको हो ।
फिक्कल- ४ सुनकोसी- २ जोड्ने, फिक्कल- ५ सुनकोसी- १ जोड्ने र फिक्कल- ५ सुनकोसी- २ जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको उपाध्यक्ष बरालले जानकारी दिनुभयो ।
आवागमनको धेरै चाप हुने पुल बाढीले बढाउँदा दैनिक उपभोग्य वस्तु ओसारपसार तथा आवतजावत गर्ने यात्रुलाई समस्या परेको उहाँको भनाइ छ । पुल बगाउँदा सवारी साधन सञ्चालन हुन नसकेका उहाँले जानकारी दिनुभयो ।
सिन्धुली हुँदै रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजान कठिन भएको छ । बाढीपहिरोले बगाएका तथा क्षति गरेका संरचना जतिसक्दो चाँडो पुनःनिर्माण गरिदिन सुनकोसी गाउँपालिका- १ गोइरीकी कृष्णमाया तोलङ्गेले तीनै तहका सरकारसँग आग्रह गर्नुभयो।