
केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज- कुनौली सडकखण्डमा रहेका पुल भासिँदा आवतजावतमा समस्या भएको छ ।
साथै भारतसँग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका- १ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ।
अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ ।
वर्षा हुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटान समेत हुने गरेको छ ।
स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताउनुभयो ।
उहाँले वर्षाका कारण वस्ती डुबानमा नै रहेको बताउनुभयो । राजविराज- कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरूद्ध छ । ”
भारतबाट कुनौली हुँदै आएका मालवाहक सवारी भन्सार कार्यालय पुग्ने मुख्य बाटो यही हो । सडक अवरुद्ध हुँदा सरकारले उठाउने राजस्वमा त असर पर्छ नै स्थानीयलाई समेत जोखिम थपिएको छ ।
दुई वर्षअघि आएको बाढीले सडक भासिँदा दुई जना बेपत्ता भएका थिए । कटानका कारण गाउँका बासिन्दालाई सदरमुकाम राजविराज पुग्न पनि कठिनाइ खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
तिलाठीस्थित राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले राजविराज जोडिने कुनौलीको पूर्वी भेग सम्मको बीच बाटोमा रहेको पुल र सडक जीता खोलाले बगाएर क्षति गर्दा राजस्व सङ्कलनमा धेरै गिरावट आएको बताउनुभयो ।