कैलाली, असोज १६ :

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ । 

गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका- १ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका- ८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका  लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको  प्रहरीले जनाएको छ । 

यस्तै बा९५ प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार शुक्लाफाँटा नगरपालिका- ७ का २२ वर्षीया दीपक बोहोरा घाइते भएका छन् । बोहोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।