काभ्रे, असोज १६ :

केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् ।

मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो । 

घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् । घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

पनौती नगरपालिका-११ बल्थलीमा पहिरोमा एकै परिवारका चार जना अझै बेपत्ता रहेको जनाइएको छ । 

बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिला सहित १८ जना छन् ।

मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ । यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक महिलाको मृत्यु भएको छ । 

यसैगरी, मण्डनदेउपुरमा चार महिलासहित आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई पुरुष, एक बालक तथा एक बालिका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेथानचोक गाउँपालिकामा मृतक सात मध्ये चार पुरुष, दुई महिला र एक बालक, रोशीमा चार महिला, एक बालक र एक बालिका, नमोबुद्ध नगरमा पाँचमध्ये दुई महिला तथा पुरुष, बालक र बालिका एक- एक, बनेपा नगरमा एक पुरुष, एक बालक र एक बालिका, धुलिखेलमा एक पुरुष र एक बालकको मृत्यु भएको छ ।

भुम्लु गाउँपालिकामा एक महिला, एक पुरुष र एक बालक तथा चौँरीदेउरालीमा एक महिलाको मृत्यु भएको हो । पाँचखाल नगर तथा खानीखोला र महाभारत गाउँपालिकामा भने कुनै मानवीय क्षति भएको छैन । 

बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो । 

खानेपानी आपूर्तिमा समस्या

अविरल वर्षाका कारण बाढीपहिरोले खानेपानीका मुहान पूर्ण रूपमा अवरुद्ध हुँदा काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल, बनेपा र पनौती नगरमा खानेपानी आपूर्तिमा कठिनाइ भएको छ । 

खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी नियमित हुन नसकेको नेपाल खानेपानी संस्थान बनेपा शाखाले जनाएको छ।

स्थानीय तहद्वारा राहत घोषणा

विपद्पछि खोज, उद्धार तथा राहतका लागि धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिकाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने तयारी गरेका छन् ।

धुलिखेल नगरले नगर क्षेत्रभित्र बाढीपहिरोबाट क्षति पुगेका परिवारलाई राहत उपलब्ध गराउन एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको हो । 

यसका लागि नगरले मानवीयलगायत क्षतिको विस्तृत विवरण सङ्कलन गर्न प्रत्येक वडामा प्राविधिक सहितको टोली परिचालन गरेको छ।

यसैगरी मण्डनदेउपुर नगरले मृतक परिवारलाई ५० हजारका दरले आर्थिक सहयता गर्ने निर्णय गरेको छ । नगरले घाइतेलाई निःशुल्क उपचार गरिरहेको छ।

बनेपा नगरले तत्काल वडामा विपद् व्यवस्थापन समितिमार्फत क्षतिको विवरण सङ्कलन गरी सोही विवरणका आधारमा विपद्मा परी मृत्यु हुनेका परिवारलाई जनही ३० हजार, घाइतेलाई २० हजार, पूर्ण क्षति भएको घरलाई १० हजार, गोठलाई पाँच हजार, उच्च जोखिममा परेका घरलाई पाँच हजार, पूर्ण रूपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई १० हजार, दुहुनो गाई वा भैँसी मरेकाको परिवारलाई १० हजार र बाछाबाछी बाख्राको हकमा भने प्रतिगोटा पाँच हजारका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।