केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडक यात्रामा केही हदसम्म सहजता हुन थालेको छ ।
धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ ।
पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारी साधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो ।
नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला सवारी साधन आवागमनमा केही कठिनाइ रहेको उहाँको भनाइ छ । दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन ।
बाढीपहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्याएका स्थानमा भने अझै सवारी साधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ ।
केही दिनअघिको बाढीपहिरोबाट मुलुकका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्याएको थियो । सानाठूला गरी २० वटा पुल बगाएको छ।
बाढीपहिरोका कारण यात्राका क्रममा बीच बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्याउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् ।
केही राजमार्गका केही खण्डमा यातायातका साधन सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।
यसैबीच, नजिक आइरहेका बडादसैँ लगायत चाडपर्वका कारण काठमाडौँमा न्युरोड सहितका सहरी क्षेत्रमा किनमेल गर्नेको भीडभाडले केही दिनदेखि सवारी साधन व्यवस्थापनमा चाप बढेको छ ।