
वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिनुभएको जानकारी अनुसार विपत्तिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म छ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।
फेला परेका शव मध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराउनुभयो ।
अरु फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्याउने काम भइरहेको उहाँले बताउनुभयो ।
नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल गाउँपालिका वडा नं २ मानिखेल लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान, महाङ्काल- २ ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, निजका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्का छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष नौकी सलिना स्याङ्तानको शव फेला परेको हो ।
प्रहरी नायब उपरीक्षक अधिकारीले वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता रहेको बताउनुभयो ।