काठमाण्डौँ , असोज १६ :

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हवाई भाडाको अनियन्त्रित मूल्य वृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ ।

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीको संयोजकत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डेलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।  

अविलम्ब हवाई भाडाको मुल्यलाई वैज्ञानिक रुपमा नियन्त्रण, नियमन र समायोजन गर्न तथा यस विपद्को घडीमा कालोबजारी र मुल्य वृद्धिमा संलग्न हवाई यातायात सञ्चालक तथा संलग्न सबैलाई निष्पक्ष छानविन गरी कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउन अनेरास्ववियुले मन्त्री पाण्डेसमक्ष माग गरेको छ । 

अनेरास्ववियुले हवाई यातायातमा विद्यार्थी सहुलियतको नीतिगत प्रबन्ध गर्नसमेत माग गरेको छ । ज्ञापनपत्रमा वायुसेवा कम्पनीहरूको प्रभावकारी नियमन र नेपाल एयर लाइन्सको प्रभावकारी सञ्चालन गर्न पनि माग गरिएको छ । 

अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले चाडपर्व र यस्तो विपद्का बेलामा बढी भाडा नअसुल्न निर्देशन दिइसकिएको र जुनसुकै हालतमा पनि भाडा बढाउन नदिइने बताउनुभयो ।

साथै उहाँले अखिलले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।