खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी- सिन्धुली- बर्दिवास- हेटौँडा हुँदै काठमाडौँ सम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ ।
दसैँको पूर्वसन्ध्यामा बाढीपहिरोले मध्यपहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल- घुर्मी- खुर्कोट हुँदै काठमाडौँ आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रुपमा असोज- १६ गते आजदेखि दिक्तेलबाट घुर्मी- सिन्धुली- बर्दिबास- हेटौँडा हुँदै काठमाडौँ सम्मको बस सेवा सञ्चालन हुने भएको हो।
क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि वैकल्पिक रूपमा दिक्तेलबाट घुर्मी- सिन्धुली- बर्दिवास- हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो ।
सडक अवरुद्धका कारण दसैँ तथा तिहार मान्न घर फर्कने हजारौँ यात्रु काठमाडौँमा रोकिएका छन् । उनीहरुको सुविधाका लागि वैकल्पिक मार्गमा काठमाडौँसम्म बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
दिक्तेलबाट काठमाडौँ तथा काठमाडौँदेखि दिक्तेलसम्मको एकतर्फी भाडा प्रतिव्यक्ति दुई हजार पाँच सय तोकिएको खोटाङ यातायात प्रालिले जनाएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घुर्मी- सिन्धुली- बर्दिवास- हेटौँडा हुँदै काठमाडौँ पुग्नका लागि दिक्तेल- घुर्मी- खुर्कोट- काठमाडौँभन्दा दोब्बर लामो हुने जनाइएको छ ।