
हेवा खोलाको बाढीको वितण्डाले उठ्नै नसक्ने गरी समस्यामा पारिदिएको आयोजनाको नाम हो ‘सुपर हेवा पावर कम्पनी’।
बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्यो । बाढीले उनीहरूका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाएक खण्डहरमा परिणत भयो । करोडौ मूल्यका सामान बाढीले बेपत्ता बनायो ।
सिन्धुपाल्चोकका निमा लामा पहिलो पटक जलविद्युत् आयोजनामा जोडिएर लगानी गर्नुभएको थियो । आयोजनाबाट बिजुली बाल्ने अन्तिम तयारी हुँदै गर्दा २०८० असार १ र २ गतेको अविरल वर्षापछिको बाढीले दिएको दुःख भुल्दै फेरि निर्माणमा जुट्नुभएका लामालाई यस वर्षपनि गत वर्षकै पीडा दोहोरियो ।
गत वर्षको बाढीले आयोजनाको पाइप र अन्य निर्माण सामग्री बगाएको थियो । त्यो बेला झण्डै ४० करोड बराबरको क्षति भएको थियो । निर्माण व्यवसायीले बीमा नगर्दा क्षतिपूर्ति पाउन समेत समस्या भयो ।
उपकरणको भन्दा पनि मानव जीवनको क्षति ठूलो भयो । बेपत्ता भएका बर्दियाका कामदारको अवस्था हालसम्म पत्ता लागेको छैन । निर्माणमा संलग्न मजदुर छोराछोरी जस्तै प्रिय थिए । आफ्ना प्रिय मान्छेहरूलाई खोलाले निलेपछि निमाको आँखा धेरै दिन ओभानो भएन । “म धेरै दिनसम्म रोएँ । मलाई असाध्यै नरमाइलो लागिरह्यो । मेरो आयोजनामा काम गर्न आएका मजदुरको शव समेत हालसम्म फेला परेको छैन । फेरि त्यस्तै कहर यसपटक पनि आयोजनाले खेप्नु परेको छ”, उहाँले भन्नुभयो ।
बीमा लगायत प्रत्येक मजदुरका परिवारलाई आठ लाख बराबरको राहत उपलब्ध गराइए पनि मानव जीवनको क्षतिपूर्ती कसरी हुँदो हो र ? निमा भन्नुहुन्छ, “आयोजनाको फेरि निर्माणका लागि भन्सारमा सामान रोकियो । अनेकन हण्डर ठक्कर व्यहोरेर पुनः आयोजना सुरु गर्दा नगर्दै समस्या दोहोरियो ।”
गत वर्ष जनधन दुवैको क्षति भएको भएपनि यस वर्ष मानव क्षति भने भएन । यसैमा खुसी छन् निमा । चैनपुर सिद्धपोखरीदेखि आयोजनास्थल मुच्छेबुङसम्म पुग्ने पहुँचमार्गको छ किलोमिटर खण्डको दर्जनौ स्थानमा पहिरो गएको छ ।
नियमित काम हुन पाएको भए आगामी कात्तिक मसान्तसम्म आयोजनाबाट बिजुली उत्पादन हुने थियो । तर यसपटक पनि प्राकृतिक विपत्तिका सामू उहाँको केही लागेन । हेवामा गत वर्षको जस्तै बाढी आयो । क्षति पुर्यायो । बिजुली बाल्ने सपना पर धकेलियो ।
यसवर्षको बाढीले एक हजार एक सय मेगावाट बराबरको विद्युत् उत्पादनमा अवरोध उत्पन्न भएको छ । जलविद्युत् आयोजनाका प्रसारण लाइन तथा वितरण प्रणालीमा जटिलता पैदा भएको छ ।
उत्पादन रोकिएका आयोजनाको क्षमता छ सय ५० मेगावाट बराबर छ । आपतकालीन अवस्थामा अधिकांश विद्युत् गृह बन्द हुन जाँदा प्राधिकरणलाई माग धान्न समेत कठिनाई भएको थियो ।
बाढी र अविरल वर्षाका कारण एक हजार एक सय मेगावाट बराबरका ३६ आयोजनामा क्षति भएको ऊर्जामन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ ।