
मुस्ताङको वारागुङ- रानीपौवाबाट मुक्तिनाथ- पुराङ- झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ ।
आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट तेताङसम्म सात किलोमिटर नयाँ मार्ग निर्माण गरिने मुस्ताङ पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम मगरले जानकारी दिनुभयो ।
सम्झौता गरेको निर्माण कम्पनीले तेताङ तर्फबाट डोजर परिचालन गरेर ‘ट्रयाक’ निर्माण थालेको उहाँले बताउनुभयो । रानीपौवा- झोङ खण्डमा कालोपत्रका लागि पहिलो चरणमा सडक फराकिलो बनाउन सुरु भएको छ ।
यो आयोजनाका लागि गण्डकी प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ । वि.सं २०८३ साउन २८ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड ६० लाख बजेट विनियोजन गरेको छ ।
यो कालीगण्डकी करिडोरको कागबेनी- छुसाङ खण्डको वैकल्पिक सडक हो । कागबेनीबाट मुक्तिनाथ मन्दिरमा जाने पर्यटक तथा तीर्थयात्रीलाई यही सडक भएर उपल्लो मुस्ताङको यात्रा गर्न सहज हुनेछ ।
वारागुङ मुक्तिक्षेत्र, लोघेकर- दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सहज हुने भएकाले यो सडकलाई प्राथमिकता दिएको सूचना अधिकारी मगरले बताउनुभयो ।