
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका- ९ गच्छे टोल घर भई काठमाडौँको टोखा नगरपालिका- ७ बस्ने ३४ वर्षीय सुदनराज अमात्य, नुवाकोट तादी गाउँपालिका- ३ घर भई काठमाडौँ टोखा नगरपालिका- ९ नयाँ बसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाईं र गुल्मी मालिका गाउँपालिका- ६ घर भई ललितपुर महानगरपालिका- २ गोदावरी बस्ने ३५ वर्षीया विन्दु केसी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पक्राउमध्ये सुदनले एकजना पीडितबाट पाँच लाख, अन्जनाले एकजना पीडितबाट दुई लाख ९० हजार र विन्दुले एकजना पीडितबाट एक लाख पाँच हजार लिई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो ।
सुदनलाई पुतली सडकबाट, अन्जनालाई नयाँ बसपार्कबाट र विन्दुलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।