
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नरहेको बताउनुभएको छ।
उहाँले बजारमा अभाव हुन नदिन मन्त्रालयले पनि देशका ४४ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल पनि सञ्चालन गरिएको जानकारी गराउनुभयो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको मन्त्रालयमा आज ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले विपद्जन्य अवस्था र चाडपर्वका बेला कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गरे वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने बताउनुभयो ।
मन्त्रालयबाट महङ्गोमा तरकारी बेचेको पाइए कारबाही गर्न मातहतका निकायलाई निर्देशन भइसकेको पनि उहाँले बताउनुभयो।
विगतभन्दा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको जनाउँदै मन्त्री भण्डारी बजारमा कोही कसैले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कालो बजारी तथा मूल्यवृद्धि गरे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाइन नं ११३७ मा खबर गर्न समेत आग्रह गर्नुभयो।
आधारभूत तहलाई दैनिक उपभोग्य वस्तुको सहज उपलब्धताका लागि मन्त्रालय लागिपरेको उहाँको भनाइ छ । उहाँले हरेक अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कम्तीमा पाँचदेखि १० रुपैयाँसम्म मन्त्रालय मातहतका बिक्री कक्षमा सस्तो मूल्य कायम गरिएको जानकारी गराउनुभयो।
मन्त्री भण्डारीले अत्यावश्यक वस्तुका रुपमा रहेको पानीको अधिकतम खुद्रा मूल्यभन्दा बढी लिने जुनसुकै होटल तथा रेष्टुरेन्ट कारबाहीको दायरामा आउने क्रम जारी रहेको बताउनुभयो।
उहाँले छिट्टै राजमार्गका होटललाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया भइरहेको जानकारी गराउनुभयो।