
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अधिकारीले एचके इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठसँग ७० लाख रुपैयाँ घूस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ । राजस्व चुहावट सम्बन्धी छानबिन तथा अन्य कसुरबाट बचाउन उनले सहजीकरण गरिदिए बापत उक्त रकम लिएको आयोगको दाबी छ ।
उक्त रकम भक्तपुरको थिमिस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिद र ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा प्रयोग भएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ ।अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी, रवीन्द्र लामिछानेलगायतसँगको मिलेमतोमा घुस लिएको आरोप आयोगले लगाएको छ।
आयोगले अधिकारीसहित घूस लेनदेन र सम्पत्ति लुकाउन सहयोग गर्ने अन्य संलग्न व्यक्तिहरूलाई पनि प्रतिवादी बनाउँदै कानुनबमोजिम कारबाहीको माग गरेको छ ।