
मनसुन सकिनै लाग्दा एक्कासि परेको अविरल वर्षाका कारण देशलाई आक्रान्त बनायो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल अवरुद्ध भए ।
केही दिन काठमाडौँ आउने मुख्य सडकमार्ग नै अवरुद्ध हुँदा आवागमनमा समस्या भोग्नुपर्यो। सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा बाढीपहिरो, डुबान लगायत प्राकृतिक विपत्तिका घटनाले जनजीवन अस्तव्यस्त भएको छ।
दसैँको मुखमा आ–आफ्नो गन्तव्यमा जान हौसिएका नागरिक सडक अवरुद्ध हुँदा निराश छन्। सडक यातायात सहज नभएको र हवाई यातायात पनि सबैको पहुँचमा नभएकाले थप सास्ती ब्यहोर्नुपरेको धेरैको गुनासो छ ।
काठमाडौँबाट भोजपुर जाने प्रतिरक्षामा रहेका अनिल अधिकारीले सडकबाट जाने अवस्था नरहेको र हवाई टिकट पाउन नसकेको गुनासो गर्नुभयो।
एयरलाइन्सले फूलपातीसम्म सबै सिट अग्रिम बुकिङ भइसकेको भनिरहेका छन्।
सडकमार्ग असहज भएकाले यात्रुहरू महँगो भए पनि हवाई जहाजको यात्रा गर्न चाहँदा पनि टिकट नपाउँदा समस्या भएको गुनासो गर्छन् । काठमाडौँबाट धनगढी जान टिकटका लागि धेरै प्रयास गरे पनि हालसम्म आफ्नो समस्या समाधान नभएको कोटेश्वरका अमित सुनारले बताउनुभयो।
काठमाडौँबाट दुर्गम क्षेत्रमा मात्र होइन, सुगम क्षेत्रका विमानस्थलमा पनि यात्रुले हवाई टिकट पाएका छैनन्। सीमित उडान हुने तुम्लिङटार र सुर्खेत विमानस्थलमा त यात्रुलाई टिकट पाउन निकै सास्ती हुने गरेको छ ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सीमित उडानका कारण दसैँका लागि सबै टिकट सकिएको बताउनुभयो। फूलपातीदेखि विजया दशमीसम्म भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा टिकट पाउन मुस्किल रहेको उहाँले बताउनुभयो ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सबैजसो गन्तव्यको ‘अकुपेन्सी फुल’ भएको छ । उहाँले जहाज सङ्ख्या कम भएकाले पनि यात्रुको माग धान्न नसकिएको बताउनुभयो ।
विगत वर्षहरूमा पनि दसैँ, तिहार छठलगायत महत्त्वपूर्ण चाडपर्वमा हवाई यात्रीको चाप हुने गरेको थियो। यसपटक अविरल वर्षापछिको बाढी पहिरो लगायत विपत्तिका घटनाले सडकमार्ग अवरोध हुँदा हवाई उडानमा थप चाप बढ्न गएको जनाइएको छ ।