काठमाडौं, चैत २५ :

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको स्रोतले बताएको छ ।

देउवा दम्पत्ति हाल विदेशमा रहेकाले उनीहरुलाई पक्राउ गर्न इन्टरपोलको सहारा लिनुपर्ने छ। चुनावअघि नै उपचारका लागि भन्दै विदेश गएका उनीहरु अझै स्वदेश फर्किएका छैनन्।

 जेनजी आन्दोलनको क्रममा उनको घरमा आगजनी हुँदा पैसा जलेको र उडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर सोको मुचुल्का समेत उठाएको थियो ।  यस्तै मुद्दामा पूर्वमन्त्री दीपक खड्का पनि प्रहरी हिरासतमा रहेका छन् ।

यसैबीच, जेनजी आन्दोलनमा दमन गरेर बालबालिकाको हत्या गरेको अभियोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक अहिले प्रहरी हिरासतमा छन् । उनीहरु दुवैजनालाई अब म्याद नथप्न सर्वोच्चले परमादेश दिइसकेको छ । सरकारले उनीहरुविरुद्ध अन्य कुनै मुद्दा नलगाए उनीहरु भोलि धरौटीमा मुक्त हुने सम्भावना रहेको छ ।