धादिङ, असोज २० :

जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारी साधनलाई तत्काल कारबाही गर्न थालिएको छ । धादिङको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो जिप बढी कारबाही पर्ने गरेका छन् । 

शुक्रबार बिहान धादिङको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती लगायत गाउँपालिकाका विभिन्न बस्तीबाट छतमा यात्रु राखेर ओसारपसार गर्ने पाँचवटा बोलेरो जिप जरिवानासहित कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमति नभएका सवारीसाधनले क्षमताभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढङ्गले सवारी चलाउने गरेको पाइएकाले पछिल्लो दुई दिनमा ३२ वटा सवारी कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँका अनुसार प्रयोजन विपरीत सञ्चालित तीनवटा, छतमा राखेर यात्रु बोक्ने १४, सवारीसाधनको अवस्था ठीक नभएको पाँचसहित ३२ वटा सवारी साधन कारबाहीमा परेका हुन् । 

सडक सञ्जाल सहज नभएका ग्रामीण बस्तीहरूबाट बोलेरो जिपले सर्वसाधारणलाई सदरमुकाम धादिङबेँसी ल्याउने- लाने गर्छन् । सडक सञ्जाल पुगे पनि जिल्लाको अधिकांश भागमा यात्रुवाहक बस सञ्चालन हुने सडक नभएपछि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

अनुमति नभएका बोलेरो जिपहरुले मनोमानी ढङ्गबाट भाडा असुलेको गुनासो आएपछि ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाइ गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।