रामेछाप, असोज २० :

लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको  मन्थली- काठमाडौँ यातायात आज बिहानदेखि अवरुद्ध भएको छ । 

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो । 

मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक- काठमाडौँसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसी सम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौँ आवतजावत गर्ने गरी बाटो खुलाइएको  थियो ।  

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुङ्गाका विभिन्न भागबाट काठमाडौँ जाने र तीनै स्थानका लागि काठमाडौँबाट छुटेका मालवाहक र यात्रुवाहक सवारी साधन रोकिएका छन् । 

अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।