यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा १० करोड ४० लाख बराबरको क्षति पुगेको छ।
लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्याएको हो ।
सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्याउँदा अहिले सिँचाइ कार्यमा असर पुगेको आयोजनाका डिभिजन प्रमुख अनुभव चौधरीले बताउनुभयो ।
बागमतीको बैराज, बैराजको ढोका र त्यसको तलको पक्की सतह तथा तटबन्ध, रौतहट तर्फको पश्चिमी मूलनहर तथा सर्लाहीतर्फको पूर्वी मूलनहर, शाखा नहर, उपशाखा नहर, हेडवक्र्स तथा बाँध र नहर जोड्ने मुख्य तथा सहायक सडक बाढीले क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो ।
रौतहटतर्फको पश्चिमी मूल नहरको चाँदी साइफान, मानपुर शाखा अन्तर्गतको हजरिया शाखा, प्रेमपुर शाखा, महमोदपुर शाखा, भोलहिया शाखा अन्तर्गतको लौकहा प्रशाखा, जिगङरिया शाखाको नहर तथा बाँध रहेको क्षेत्र बाढीले क्षति पुर्याएको छ ।
यस्तै सर्लाहीतर्फको पूर्र्वी मूल नहरको लक्ष्मीपुर शाखा, पूर्वी मूल नहरको गडैया शाखाको आरफोर सेक्सन तथा सडकमा क्षति पुर्याएको प्रमुख चौधरीले बताउनुभयो ।
वि.सं २०३५ मा निर्माण सुरु भएको उक्त आयोजना २०५० सालमा सञ्चालनमा आएको हो ।