काठमाण्डौँ , असोज २० :

बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त खानेपानीका मुहान मर्मत गर्ने, विच्छेद भएको विद्युत् आपूर्ति सञ्चालन गर्ने लगायत कार्यलाई स्थानीय सरकारहरूले प्राथमिकतामा राखेका छन् ।

यस पटक बाढीपहिरोबाट बढी प्रभावित काभ्रे र सिन्धुलीका स्थानीय जनप्रतिनिधिले मुख्यतया बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडक मर्मत गरेर जनतासँग पहुँच स्थापित, विद्युत्का ढलेका पोल मर्मत सम्भार गर्ने तथा क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरणजस्ता आधारभूत सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको प्रतिक्रिया दिएका छन् ।

दिनेश लामा, अध्यक्ष रोशी गाउँपालिका

मुख्यतया बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडकमा यातायात पहुँच स्थापित, ढलेका विद्युत् पोलको मर्मत सम्भार, क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा सडकको पहुँच स्थापित नभएसम्म केही नहुँदो रहेछ । विद्युत्को ट्रान्सफर्मर ढुवानी, ढलेका पोल फेर्न बाटो नभई बोकेर लैजान सकिएन ।

त्यसकारण पहिले बिपी राजमार्ग र त्यसपछि पालिका जाने भित्री सडक दसैँ अघि नै जसरी पनि सञ्चालन गरौँ भनेर अघि बढेका छौँ । बाढीपहिरोमा रोशी गाउँपालिका मात्रै १२ को मृत्यु भएको छ ।

भौतिक पूर्वाधारतर्फ दश शय्याको अस्पताल, पक्की र झोलुङ्गे पुल बगेका छन्भने औद्योगिक ग्रामको प्रशासनिक भवन पूर्ण रुपमा क्षति भएको छ । त्यहाँको भर्खरै तयार भएको चिस्यान केन्द्र पनि बाढीले बगाएको छ । तामाङ समुदायको जीवन्त झल्कने रोशीको तटीय क्षेत्रमा रहको डम्फु सङ्ग्रहालय र पार्क पनि बगेको छ । 

बाढी र पहिरोबाट पालिका भित्र १२ वटा विद्यालय भवनमा क्षति पुगेको छ । एक दर्जन पक्किीसहित करिब ३०० घर पूर्ण क्षति भएका छन् । रोशी खोलाभित्रका धान उत्पादनमा मुलुकमै कहलिएका फाँटमा बढी पसेर सखाप भएको छ । बारीका कान्ला भत्किएर भित्र्याउन ठिक्क परेका मकैमा नोक्सानी पुगेको छ ।

रोशी लगायत खोला र खहरेले धानबालीमा पुर्‍याएको क्षतिको आँकलन गर्न सकिने अवस्था नै छैन । एउटै व्यक्तिकै १५ रोपनीसम्म खेत रोशीले कटान गरेको छ, पुरेको छ । 

निजी सम्पत्ति र सडक बाहेक सार्वजनिक सम्पत्तिको क्षति मात्रै पनि अर्बौं मूल्य बराबरको छ । राजमार्ग छाडेर अस्पताल, औद्योगिक ग्राम, डम्फु पार्कमा भएको नोक्सानी जोड्दा अर्बको क्षति अनुमान गर्न सकिन्छ । निजी सम्पत्ति पनि सोही हाराहारीमा नोक्सानी भएको छ । 

प्राकृतिक विपद्पछि आउँदै गरेका दसैँ लगायत चाडबाड यस पटक खल्लो हुने भएको छ । कतिपय स्थानमा चामल समेत पुर्‍याउन सकिएला जस्तो लाग्दैन । तथापि कोसिस भने जारी छ । तुलनात्मक रुपमा बाढीले फलामे साँगु, नारायणटार र नार्केमा बढी तहसनहस बनाएको छ।  

दीपा दहाल (बोहरा), अध्यक्ष, सुनकोशी

बाढीपहिरोपछिको अवस्था निकै जटिल छ । स्थानीय तह र सङ्घसंस्थाबाट पीडित परिवारलाई राहत पुर्‍याउने काम तदारुकताका साथ भइरहेका छन् ।

विपद्मा स्थानीय तह र ती संस्था सारथी भएर जनताका घरदैलोमा पुगेका छन् । छिमेकी पालिका कमलामाई, दुधौली र मरिणले केही आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिसकेका छन् । 

रेडक्रस, रिलिफ र वर्डभिनका प्रतिनिधिले प्रभावित क्षेत्रमा पुगेर सहयोग गरिरहनुभएको छ । उहाँहरूमध्ये कसैले खानेपानी, कसैले स्वास्थ्य, कसैले आवासमा सहयोग पुर्‍याउनुभएको छ।

अप्ठेरोमा परेका व्यक्ति र समाजका लागि कुनै न कुनै माध्यमबाट सहयोग पुर्‍याउन स्थानीय सरकार प्रदेश र सङ्घ सहकार्य गर्दै अगाडि बढेको छ । साथै त्यसका लागि सङ्घ र प्रदेश सरकारबाटै शीघ्र सहयोग, समन्वय र योजनाको अपेक्षा गरिएको छ । 

बाढीबाट क्षतिग्रस्त जग्गाजमिन, घरजग्गा, खेतीबाली, पुलपुलेसा, खानेपानी, सडकमा बढी क्षति पुगेको छ । कैयौँ फाँटमा बाढी पसेर बाली नष्ट भएको छ । माटो थुप्रिएका ठाउँमा केही समयपछि त्यसलाई सम्याएर उब्जाउ गर्न सकिएला तर बगाएर लगेका स्थानमा भने गम्भीर समस्या हुन्छ ।

स्थानीय तहका सबै पदाधिकारी बसेर अब कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । सङ्घीय र प्रदेश सरकारले कृषिमा नै बढी ध्यान दिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो माग छ ।

विपद्बाट सुनकोशी गाउँपालिकामा तीन अर्ब नौ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मानवीयसँगै बाटो, बाली, विद्युत् र खानेपानीमा बढी क्षति भएको छ । 

पालिका भित्र १३ वटा विद्यालयमा पूर्णरुपमा क्षति भएका छन् । दसैँ लगत्तै कसरी विद्यालय सञ्चालनमा ल्याउने भन्ने अहिले गम्भीर  प्रश्न उठेको छ । यो ठूलो समस्या हो । 

शङ्करराज बराल अध्यक्ष, गोलञ्जोर गाउँपालिका

खुर्कोट बजारमा सुनकोशी बाढी पसेर ३५ भन्दा बढी घर र पसल डुबान परे । पुरिएका भौतिक संरचनाभित्र र वरपरको बालुवा हटाउने र घर सफा गर्ने कार्य स्थानीय तह तथा नेपाल प्रहरी खटिरहेको भइरहेका छन् ।

बाढीले बगाएको सुनकोशीको पुलको स्थानमा बेलिबृज जडानका लागि नेपाली सेनाबाट अध्ययन भइरहेको छ । 

पहिलो चरणकोे तत्कालीन मानवीय सहायता करिब ८५ घरपरिवारलाई वितरण गरियो । पुरिएर नोक्सानी भएका धान खेत सम्याउने र मिलाउने काम स्थानीय सरकारबाट हुनुपर्छ भन्ने जनताको माग छ । जनअपेक्षाअनुरुप नै त्यो काम गर्ने प्रतिबद्धता स्थानीय तहले जनाएका छन् ।

सुनकोशीबाट खानेपानी र सिँचाइका लागि लिफ्ट गरिएका आयोजनामा बाढीले ठूलो क्षति पुर्‍याएको छ । त्यसको सरसफाइ र मर्मत कार्यमा तत्काल केही समस्या भएको छ । विकल्पका रुपमा पाइपको व्यवस्थापन गरी अघि बढ्ने प्रक्रिया भने सुरु भइसकेको छ । 

बाढीले गाउँपालिकाभित्रका १६ भन्दा बढी लिफ्ट आयोजनामा नोक्सानी पुर्‍याएको छ । त्यसबाट खुर्कोटको बजार क्षेत्र, हैवारबेँसी, बलेनीलगायत क्षेत्र खानेपानीबाट बढी प्रभावित छन् । 

यस पटकको विपद्बाट पालिका भित्र गड्तिर भेगका करिब ८५ घर क्षति भएको प्रभारम्भिक तथ्याङ्क आएको छ । बाढीबाट गड्तिर भेग मात्र नभई महाभारत क्षेत्रका घरहरू पनि जोखिममा छन् । 

अलिकति पानी पर्ने बित्तिकै घर लड्ने, बग्ने र पहिरोमा पर्ने सम्भावना निकै ठूलो छ । त्यस्ता सङ्कटउन्मुख घरको सङ्ख्या डेढ समय माथि रहेका छन् । 
अर्कातर्फ बिपी राजमार्ग फेरि नयाँ बनाउनुपर्ने गरी भत्किएको छ । 

अहिले तत्कालका लागि मध्यपहाडी सडक आयोजनाको सहयोगमा अहोरात्र खटिएर साना गाडी छिचोल्ने ढङ्गबाट मात्र राजमार्ग सञ्चालनमा ल्याइएको छ ।