
विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै काठमाडौँको शान्तिवाटिका अनशन बसेका तेह्रथुमका दीपक सिलवालले आजदेखि अनशन तोड्नुभएको छ ।
गृह मन्त्रालयका उपसचिव दिलकुमार तमाङ र सिलवालबीच आज पाँचबुँदे सहमति भएसँगै उहाँले अनशन तोड्नुभएको हो। गृह मन्त्रालयमा आज आयोजित एक समारोहबीच गृहमन्त्री रमेश लेखकले उहाँलाई जुस पिलाएर अनशन तोडाउनुभएको हो ।
समारोहमा गृहमन्त्री लेखकले सिलवालले उठाएको विषय गम्भीर र महत्त्वपूर्ण रहेको बताउँदै सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यका साथ अनशन बसेर सिलवालले लोकतन्त्रको असल अभ्यास गर्नुभएको भन्दै मन्त्री लेखकले प्रशंसा गर्नुभयो ।
गृहमन्त्री लेखकले अहिले सरकारले दिइरहेको सेवाले सबै ठाउँलाई समेट्न नसकिएको अवस्थामा त्यस्तो हुनुहुँदैन र सबै पीडामा रहेकाहरूको उद्धार गर्नुपर्छ भनेर उहाँले राख्नुभएको माग जायज भएको पनि बताउनुभयो ।
हवाई उद्धारसँग सम्बन्धित कार्यविधिलाई संशोधन गरेर सिलवालले उठाएको कुरालाई समावेश गरी अघि बढ्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले तोकतान्त्रिक ढङ्गले गरिएको दीपक सिलवालको दबाब शान्तिवादी अभ्यास भएको प्रतिक्रिया दिनुभयो ।
उक्त कार्यक्रममा गृह मन्त्रालयका सूचना अधिकारी तामाङले यसअघिको हवाई उद्धारको समीक्षा गर्दै आपतकालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत, साधन तथा प्रतिबद्ध संयन्त्रको व्यवस्थापन गरी थप प्रभावकारी बनाउने लगायत पाँचबुँदे सहमति भएको जानकारी दिनुभयो ।
हिजोको छलफलबाट सहमति गरी आज औपचारिक रुपमा हस्ताक्षर भएको जानकारी गराउँदै उहाँले सहमतिसँगै आजैका मितिबाट सिलवालको अनशन पनि अन्त्य भएको जानकारी दिनुभयो ।