तनहुँ, असोज २१ :

विश्व बैङ्कको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो । 

शुक्लागण्डकी-दुलेगौडाबाट लिलाचोकसम्मको खण्डमा धमाधम स्तरोन्नति भइरहेको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । उहाँले तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गराउन पालिकाले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । 

कालोपत्रपछि स्थानियलाई आवतजावतमा सहयोग पुग्नेछ। सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले विसं २०८० चैत २५ गते सम्झौता गरेको थियो । 

विश्व बैङ्कको सहयोग र सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत उक्त मोटरमार्ग सात दशमलव एक किलोमिटर दूरी कालोपत्र गर्न थालिएको नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले जानकारी दिनुभयो । 

उक्त ठेक्काको रकम २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ । १५ महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको उहाँले बताउनुभयो ।