काठमाडौं, वैशाख १५ :

सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ।

 प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग विशेष छलफल आयोजना गरेको छ। दिउँसो ३ देखि सुरु भएको छलफल साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।

कार्यदलले हिजो पनि संविधानविद्हरूसँग छलफल गरेको थियो। मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठित यस कार्यदलले वैशाख १० गतेको बैठकको निर्णय बमोजिम यो परामर्श प्रक्रिया अघि बढाएको हो। 

कार्यदलले सबै सरोकारवालासँगको छलफलबाट संकलित सुझावहरूका आधारमा संविधान संशोधनको ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ।