काठमाण्डौँ , असोज २१ :

गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । 

जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उहाँले हेलिकप्टर प्रयोग गरेर भएपनि राहत वितरण गर्न निर्देशन दिनुभएको हो ।

विपदको समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एकाकार भएर काम गर्नुपर्ने उहाँको भनाई छ ।

नागरिकले खुला आकास मुनि बस्न नपरोस् भन्दै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था आउन नहुने बताउनुभयो ।

उहाँले अहिलेको संविधान कानुनले चार तहको संरचना तय गरेको उल्लेख गर्दै चारवटै विपद् व्यवस्थापनका संयन्त्रहरु जोडिएर मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले घर पूर्ण क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको बताउनुभयो ।

उहाँले तथ्याङ्क उपलब्ध भएको तीन दिनभित्र रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

पूर्व अर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले विपद् क्षेत्र घोषणा भएका स्थानीय तहलाई सडक मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले धरापमा भएका घरहरुलाई मर्मतका लागि तत्कालै ध्यान दिन आग्रह गर्नुभयो ।

ललितपुर क्षेत्र नं २ का सङ्घीय सांसद प्रेमबहादुर महर्जनले भौतिक क्षतिको विवरण खोज्न मिहिन ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानवीय संवेदना बुझेर काम गर्न राज्यले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । 

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले शुद्ध पिउने पानी र सञ्चार क्षेत्रमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले राहत वितरणलाई प्रभावकारी बनाउन पनि जोड दिनुभयो ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिका भित्र प्राकृतिक विपद्मा परी छ जनाको मृत्यु भएको जानकारी गराउनुहुँदै विपद् व्यवस्थापनमा आवश्यकता अनुसार प्रत्येक वडाले तत्कालै व्यवस्थापन गर्न सक्नेगरी बजेट व्यवस्थापन गरेको बताउनुभयो । 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पालिका भित्र २० जनाको मानवीय क्षति, एक सय आठ वटा सरकारी संरचनामा क्षति र ५५ वटा खानेपानी योजनामा क्षति पुगेको जानकारी दिनुभयो   

महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठले  पालिकाभित्र सात जना मृत्युु भएको बताउनुभयो । उहाँले वडा नं ९ मा खानेपानीको समस्या रहेको,  वडा नं. १० सम्म जाने सडक मर्मत भैरहेको र प्रभावित क्षेत्रमा लागत सङ्कलन भैरहेको जानकारी गराउनुभयो । 

महालक्ष्मी नगरपालिकाका वडा नं. १, ५ र ७ बढि प्रभावित भएको उहाँले जानकारी गराउनुभयो ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले विपद्का कारण गाउँपालिकाभित्र खानेपानीको पाइपमा पूर्ण रुपमा क्षति भएकाले सञ्चार सम्बन्ध टुटेको जानकारी गराउनुभयो।