काठमाण्डौँ , असोज २२ :

‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ मूल नाराका साथ आज ४४ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

कृषि विभागले आज बिहान प्रभातफेरी गरी कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा दिवसको मूल समारोहको आयोजना गरिने जनाएको छ ।

विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा यो दिवस मनाउँदै आएको छ । 

अक्टोबर १६ मा यो दिवस मनाइए पनि यस पटक चाडपर्वका कारण असोज २१ गते मनाउन लागिएको विभागले जनाएको छ । 

सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २० औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदै आएको हो ।