काठमाण्डौँ , असोज २२ :

चितवनको रत्ननगर नगरपािलका- ९ टिकौली जङ्गलमा आज बिहान मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पूर्व- पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३- ००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडी बस्ने गरी ६ जना घाइते भएको र घाइतेमध्ये गम्भिर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदिखोला गाउपालिका- ३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

स्कुटरको पछाडी सवार स्याङ्जाको फेदीखोला गाउपालिका- २ बस्ने १७ वर्षीय रश्मी शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ ।
 
त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका- १४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको रिजालले जानकारी दिनुभयो ।

ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर- ८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडी बस्ने गैडाकोट नगरपालिका- ८ नवलराससी (वर्दघाट सुस्ता पूर्व) की बिविका सापकोटाको अवस्था समान्य घाइते रहेको र उनीहरुको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।