
दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका- ५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।
राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी चुडामणि दाहालले बताउनुभयो । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार पर्यटकको बढी घुइँचो हुने गरेको उहाँले जानकारी दिनुभयो ।
दसैँ लागेपछि यहाँ पर्यटक आउने क्रम बढेको छ । दसैँका बेला विद्यालय तथा कार्यालयहरू बिदा हुने भएकाले आन्तरिक पर्यटक बढ्न थालेका हुन् । दुर्गापक्ष अन्तर्गत सप्तमीदेखि पर्यटकको आगमन अझै बढ्ने अनुमान गरिएको छ ।
स्थानीय अनिल अधिकारीले दमौली बजारलाई ढपक्क कुहिरोले ढाकिएको सुन्दर दृश्य हेर्न एकपटक आएकाहरु पुनः आउने गरेका बताउनुभयो।
मानुङकोट घुम्न पुग्नुभएका व्यास- ४ का मनोज राउतले त्यहाँबाट देखिने कुहिरो, सूर्योदय र हिमशृङ्खलाको दृश्यले मोहित बनाएको बताउनुभयो।
मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि नयाँ र आधुनिक होटल सञ्चालन हुन थालेका छन् । विगतमा एउटा पनि नरहेको यस ठाउँमा अहिले एक दर्जन बढी होटल सञ्चालित छन् ।
दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ निर्माण गरी व्यवस्थित गरिएको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।