नवलपरासी, असोज २२ :

यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो समय नारायणगढ- बुटवल सडकखण्ड दुईतर्फी नै अवरुद्ध भयो । यसखण्डको दाउन्नेस्थित खुर्सानी खोलानजिकै असोजमा मात्रैमा दुईपटक सडक भासिँदा यातायात सेवा अवरुद्ध भएको थियो । 

सडक भासिएर यातायात आवागमन अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती खेप्न बाध्य भए । सामान्य पानी परेको अवस्थामा कहाँ सडक अवरुद्ध हुनपुग्छ र बाटोमा अलपत्र गरिन्छ भन्ने चिन्ता बोकेर हिँड्नुपरेको भरतपुर- ११ का कृष्ण पौडेलले गुनासो गर्नुभयो । 

भारतको नयाँ दिल्ली गएर फर्किदै गर्नुभएका पौडेल दाउन्नेको जाममा १२ घण्टासम्म रोकिएको गुनासो गर्नुभयो । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको पूर्व- पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ । 

सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इञ्जिनियर चुडाराज ढकालले बाटोमा कुनै जाम भएन भने चार घण्टामा सार्वजनिक सवारीसाधनले नारायणगढ बुटवलको दूरी पार गर्ने गरेको बताउनुभयो ।

सडक सहज रुपमा सञ्चालन गराउनका लागि निर्माण कम्पनीलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।