
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८०- ८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गर्नुभयो ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति, समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको सन्दर्भमा सोही बमोजिम गठित मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताउनुभयो ।
उहाँले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाहीहरू समेटेर तयार पारेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई सम्बोधन गर्ने विषयमा सरकारले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, आजै राष्ट्रपति पौडेलसमक्ष थारू आयोगले आर्थिक वर्ष २०८०र८१ मा वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सो आर्थिक वर्षमा सम्पादन गरेका कामहरूसहितको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गर्नुभएको हो ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान तथा अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।