काठमाण्डौँ , असोज २३ :

राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । 

सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं १ बाट २७. ५ किमी सुरुङको दूरी पारगरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं १ महाँकालमा प्रशोधन हुन्छ ।

दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन् । 

हिउँदमा यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाका समयमा यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा वितरण गरिन्छ ।
 
यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परैजाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने वाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् । 

खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ डाँछीका स्थानीय राममाया नगरकोटीले खानेपानी लिन गोकर्णेश्वर नगरपालिका वडा नं १ को रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुःखेसो पोख्नुभयो । 

खानेपानी लिनका लागि करिब आधा घण्टाको पैदल यात्रा गरेर जाने र आधा घण्टा पैदल यात्रा गरी आउने एवं कहिले त पानीका लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको उहाँ बताउनुहुन्छ ।
 
धारामा धेरै मानिस खानेपानीका लागि लाममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको नगरकोटीको अनुभव छ । यस्तो समस्या भोग्ने नगरकोटी मात्र होइन यहाँका हजारौँको समस्या हो । 

आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरागरी अर्को कार्यकालको आधा समय बितिसक्दा पनि समस्या भने समाधान हुन सकेको छैन । 

स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । 

गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिछ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकार्नुहुन्छ ।