लमजुङ, असोज २३ :

पाठेघरको क्यान्सरबाट पीडित लमजुङ दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको मृत्यु भएको छ । 

दूधपोखरी गाउँपालिका- ५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसका जिल्ला सदस्य रामहरी न्यौपानेका अनुसार गुरुङको पाँच दिनअघि मात्रै दोस्रो पटक ‘किमोथेरापी’ गरिएको थियो । सोमबार बिहानसम्म अवस्था सामान्य रहेकामा दिउँसोबाट गाह्रो भएपछि राती अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

वि।सं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेर उहाँ निर्वाचित हुनुभएको थियो । 

लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय उहाँ हाल कांग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा महासमिति सदस्य हुनुहुन्थ्यो ।