काठमाण्डौँ , असोज २३ :

गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो । यस सहयोगबाट विपद्पछिको पुनः निर्माण तथा पुनःस्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ । 

यसैबीच कोरियाका विदेशमन्त्री चो ताए- युल्कनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको जनाइएको छ।

कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ । 

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको छ।