हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा आज साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
हेटौँडाबाट काठमाडौँतर्फ आउदै गरेको बा२ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरका लागि जादै गरेको बा३ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किँदा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ८० नम्बरको ट्याक्सीसँग ठोक्किँदा बस सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी बसमा सवार ३५ जना यात्रु घाइते भएको र घाइतेहरुको उद्धारगरी उपचारका लागि हेटौँडास्थित अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते छ जनालाई थप उपचारका लागि चितवन पठाइएको र बाँकी सबै घाइतेहरुको हेटौंडा अस्पतालमै उपचार भईरहेको छ ।
दुर्घटनामा परी घाइते भएकाको नाम ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।