
उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालीहरूको महान पर्व विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताउनुभयो । आनन्द, खुशी र एकताको यो पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै समाजमा नयाँ ऊर्जा तथा उत्साह सञ्चार गर्न सकोस् भनी शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले आख्यानका आधारमा तिथि विशेषमा मनाइने हाम्रा प्रत्येक पर्व-त्योहार आफ्नो मान्यतामा अनौठो र मौलिक रहेको उल्लेख गर्नुभएको छ।
यस्ता पर्वले हाम्रा सांस्कृतिक परम्परालाई अक्षुष्ण राख्न सहयोग पुग्ने भन्दै उहाँले नेपालीका महत्वपूर्ण चाडपर्वमध्ये विजयादशमी पनि एक भएको उल्लेख गर्नुभएको छ ।
उहाँले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउँदै सबैलाई मन-बचनबाट सुकर्म गर्न र कुविचार परित्याग गर्न सघाउ पुगोस् भनी कामनासमेत गर्नुभएको छ।
यस्तै, विजयादशमीले आपसी शत्रुता र कटुता बिर्सेर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्दै परिवार र समाजमा एकता, प्रेम र सद्भावना बढाउनमा सहयोग पुग्ने र सामाजिक सम्बन्धलाई बलियो र एकताको भावना अभिवृद्धि गर्नमा सघाउने उपराष्ट्रपति यादवको विश्वास छ ।
यसैबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट विजयादशमीको अवसरमा उच्च पदस्थ व्यक्तित्व र आमनागरिकलाई टीका तथा प्रसाद प्रदान हुने समय तोकिएको उहाँको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवको सचिवालयले एक प्रेस नोट जारी गर्दै यही असोज २६ गते दसैँका दिन उच्च तहमा रहेका व्यक्ति र आमनागरिकलाई टीका-प्रसाद ग्रहणका लागि अपरान्ह २ः३० बजेदेखि ४ः०० बजेसम्मको समय तोकिएको जनाएको हो।
सचिवालयले टीका ग्रहणका क्रममा मर्यादित पोशाक लगाएर आउन अपिल समेत गरेको छ ।