
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गरेको छ ।
आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन समेत प्राधिकरणले अनुरोध गरेको छ ।तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत दिएको छ ।
ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेलगत्तै प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो ।
यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेपनि केही उद्योगीहरुले बिजुली प्रयोग गरे बापतको बिल नदिएको भन्दै महसुल तिर्न मानिरहेका छन् ।
प्राधिकरणले आज सूचना जारी गर्दै बक्यौता महसुल नबुझाएका उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको छ ।
आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने प्राधिकरणले जनाएको छ ।
यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सञ्चालक समितिका निर्णय तथा ठेक्कापट्टा लगायतका १५ विभिन्न बुँदामा जानकारी माग गरेको थियो ।
मन्त्रालयका सचिवस्तरीय निर्णयका आधारमा सोधिएको विवरण मागपत्रमा कर्मचारीको सेवा सुविधा सम्बन्धमा भएका सञ्चालक समितिका चार वर्षसम्मका निर्णय, कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरिएका अधिकार, राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थासँग गरेका समझदारी तथा सम्झौता तथा सहायक कम्पनीमा प्राधिकरणको सेयर स्वामित्व विवरण दिन भनिएको छ ।
त्यसबाहेक काजमा खटिएका कर्मचारीको विवरण, खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणका लागि भएका छलफल तथा विवरण, ट्रान्सफर्मर तथा अन्य उपकरणको मौज्दातको र प्राधिकरणले उत्पादन गर्ने सिमेन्ट पोलसम्बन्धी विवरण पनि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
मन्त्रालयका उपसचिव माधव मरासिनीमार्फत प्रेसित पत्र अनुसारको विवरण १५ दिनभित्र उपलब्ध गराउन अनुरोध गरिएको छ।