सुनसरी, असोज २५ :

सुनसरीको दुहबी नगरपालिका- ३ स्थित गलैँचा उद्योगमा हिजो साँझ भएको आगलागीबाट ८० करोडभन्दा बढीको क्षति भएको छ ।

धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आउनुभएको दुहबी नगरपालिका- ३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैचा उद्योगमा भीषण आगलागी भएको थियो ।

उक्त आगो भने अहिले सम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

आगो ठूलो भागमा भित्रभित्र फैलिएको कारण नियन्त्रण गर्न गाह्रो भएको उहाँको भनाइ छ ।

आगलागीबाट एक बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैचा, सिरक, डस्ना, चकटी, म्यट्रेस, कार्पेट, सवारी साधन लगायतका सामग्री सबै जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उद्योगको गोदाममा राखेको ४० करोडको सामग्री, मेसिन र भौतिक संरचना गरी ८० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । पूर्णरुपमा अझै क्षतिको विवरण आइसकेको छैन ।

उद्योग सञ्चालनका क्रममा विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।