
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ।
पार्टी मुख्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय बैठकले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्ष सहित त्यसविरुद्ध एकजुट हुनसमेत पार्टी पङ्क्तिलाई आह्वान गरेको छ।
बैठकबारे जानकारी दिदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताउनुभयो।
“देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वासका साथै लोकतन्त्रान्त्रिक गणतन्त्रात्मक संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पङ्क्तिलाई आह्वान गरेका छौँ”, उहाँले भन्नुभयो।
उपमहासचिव ज्ञवालीले सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म हालैको विपद् र त्यसबाट उत्पन्न परिस्थितिको सामना गरेको र यसका कार्यमा सबैको थप सहयोग र सहकार्यको अपेक्षा गरिएको बताउनुभयो।
बैठकले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत सहयोग र खोजी कार्यमा सम्पूर्ण जनसङ्गठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिका सहित सहयोगमा लाग्न निर्देशन दिएको छ।
आगामी मङ्सिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि सम्भावित उम्मेदवार सहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न पार्टीले निर्देशन दिने निर्णय समेत गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो।