
खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका- ३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
यही असोज ११ र १२ गते परेको अविरल वर्षा सँगैको बाढीले खोला तटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति पुर्याइएकोमा आज उहाँले प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गर्नुभएको हो ।
भेडाहा खोलाको अनियन्त्रित बहावले विशेषगरी इस्लामपुर र आसपासका बस्तीहरूमा खेतीयोग्य जमिन कटान गर्दै ठूलो क्षति पुर्याएको छ ।
त्यसक्रममा स्थानीयले वर्षौंदेखि खोलाले कटान र बाढीको जोखिम पुर्याउँदै आएकाले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माणका लागि आग्रह गरेका थिए ।
मन्त्री यादवले समस्याका दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो उहाँको निर्वाचन क्षेत्र समेत पर्दछ ।
स्थानियका गुनासा र मागलाई गम्भीरताका साथ लिएर दीर्घकालीन समाधानका लागि पहल गर्ने मन्त्री यादले प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री यादवसँगै पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी लगायत पनि निरीक्षणमा पुग्नुभएको थियो । अन्सारीले यस क्षेत्रको समस्या समाधानका लागि स्थानीय निकाय र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।