
धेरै नेपालीले धूमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा समूहले भने एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा सम्पन्न खगोल र खगोल भौतिक विज्ञानसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाडमा १९ देशका २१ समूहको सहभागिता थियो ।
युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलोपटक नेपालले गर्ने अवसर पाएको हो । ओलम्पियाडका लागि बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले सहयोग गरेको आयोजक समिति नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि आयोजकका रुपमा राखिएको थियो । तर, ती निकायबाट सहयोग नपाएको आयोजक नासोको गुनासो छ । मन्त्रालयका कुनै पनि अधिकारी ओलम्पियाड प्रतियोगितामा उपस्थित समेत नभएको नासोका अध्यक्ष भट्टराईले बताउनुभयो ।
असोज १७ गते नवरात्र सुरु भएपछि धेरै शैक्षिक संस्था बिदा भयो । विद्यार्थी घर, घरमा दसैँको रमाइलोमा रमाउन थाले । तर केही विद्यार्थी भने ‘एष्ट्रोनोमी’ र ‘एष्ट्रोफिजिक्स’सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड सफल बनाउन दिनरात जुटे । असोज १७ देखि सुरु भएको ओलम्पियाड असोज २४ गते सम्पन्न भएको हो।
ओलम्पियाडमा नेपाल, भारत, बङ्गलादेश, बुल्गेरिया, क्यानडा, चीन, कोलम्बिया, चेक रिपब्लिक, इस्टोनिया, ग्रीस, इटाली, लिथोनिया, मलेसिया, रोमानिया, श्रीलङ्का, स्वीडेन, थाइल्याण्ड, युक्रेन र युनाइटेड अरब इमिरेट्सका विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने समूहलाई पदक र प्रमाणपत्रसहित पुरस्कृत गरियो ।
खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर विधामा सहभागी विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिइएको थियो । परीक्षाको नतिजाका आधारमा आठ स्वर्ण, १३ कास्य, २१ रजत, २८ मानार्थ गरी जम्मा सत्तरी पदक विद्यार्थीलाई वितरण गरिएको थियो ।
दुई स्वर्ण पदक प्राप्त गर्नेमा चीन, चेकरिपब्लिक, भारत रहेका छन्। यसैगरी बुल्गेरिया र थाइल्याण्डले क्रमशः एकरएक स्वर्ण पदक प्राप्त गरे। सैद्धान्तिक परीक्षामा चेक रिपब्लिकका अलेक्स फेयव ‘बेस्ट इन थेओरी’ अन्तर्गत स्वर्ण प्राप्त गर्नुभयो ।
प्रयोगात्मक परीक्षामा चीनका च्याहु जङगले ‘बेस्ट इन अब्जरभेसन’ अन्तर्गत स्वर्ण पदक प्राप्त गर्नुभयो । चेक रिपब्लिकका अलेक्स फेयवले नै ‘बेस्ट इन ओवरल’ पदक पनि प्राप्त गर्नुभयो ।
ओलम्पियाडकै एक गतिविधिका रुपमा आयोजित ‘खगोल र संस्कृति’ चित्रकला प्रतियोगितामा दश देशले पोस्टर प्रदर्शन राखेकोमा मतदान मार्फत् चेक रिपब्लिकले जीत हासिल गरेको गर्यो। सहभागीलाई एकै देशका दुई सदस्य नरहने गरी विभिन्न १६ समूहमा विभाजन गरी सामूहिक प्रतियोगिता गराइएको थियो।
उक्त प्रतियोगितामा एपिमेथियस नामक टोली विजयी भयो । नेपालमा भएको ओलम्पियाडमा इटाली पहिलो पटक सहभागी भएको थियो।
अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका अध्यक्ष अनिकेत सुलेले नेपाल ऐतिहासिक, सांस्कृतिक र सर्वोच्च शिखर सगरमाथा भएको देश हुनाले सगरमाथाको उचाई जस्तै जीवनका लक्ष्य निर्धारण गर्नुपर्ने प्रेरणा विद्यार्थीलाई दिनुभयो ।
नासोका अध्यक्ष भट्टराईले ओलिप्याडले नेपालमा मात्र नभइ विश्वमै खगोल तथा खगोल भौतिक विज्ञानमा टेवा पुग्ने बताउनुभयो।
आइओएए जुनियर २०२४ का सहअध्यक्ष मनिषा द्वाले विसं २०७९ मा सुरु गरिएको ‘अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर’को नेपाल एक संस्थापक सदस्य राष्ट्र भएको जानकारी दिनुभयो।
नासोले सन् २०१४ देखि नेपालमा राष्ट्रिय खगोल ओलम्पियाड सञ्चालन गर्दै आएको छ । ओलम्पियाडमा ‘सिनियर विधा’ मा १६ देखि २० वर्ष उमेर समूहका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी हुने गरेका छन्।
प्रतियोगिता सम्पन्न भएसँगै नेपालमै अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड सम्पन्न गर्ने १० वर्ष पुरानो सपनाले साकार रुप पाएको सोसाइटीका अध्यक्ष भट्टराईले बताउनुभयो।