म्याग्दी, असोज २८ :

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् । 

सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।  

हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो । मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट ल्याउने प्रयास सफल हुन नसकेको उहाँले बताउनुभयो ।

बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन् । 

सम्बद्ध ट्रेकिङ कम्पनीले अनुकुल मौसम भएमा सोमबार शव ल्याउन हेलिकप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले बताउनुभयो । 

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्क बिहिन भएका थिए । 

प्रहरीका अनुसार रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो ।