रामेछाप, असोज २९ :

दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका- ३ भीरपानीमा निःशुल्क खाजा सहितको विश्रामस्थल सञ्चालन गरिएको छ।

सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका- ६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन्।

यही असोज ११ र १२ गतेको अविरल पछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामोदूरीका सवारी साधन सञ्चालन भइरहेका छन् ।

त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो।

घटस्थापनापछि मात्रै दुई- तीन वटा दुर्घटना भइसकेको तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था आएपछि निःशुल्क पानी र खाजाको व्यवस्था पछि भने चालकले यातायातका साधन रोक्ने गरेको बताउनुभयो । अभियान प्रभावकारी भएको उहाँको भनाइ छ।

यो अभियान दसैँ मनाउन घर जान हिँडेका यात्रीलाई लक्षित गरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो। फेरि दसैँ मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना छ।

उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउ लगायतका खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदिपकुमार सिंहले बताउनुभयो।

काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारी साधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरिकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् ।

भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले दुर्घटनाको जोखिम रहेको छ ।

उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालक समेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताउनुभयो।