म्याग्दी, असोज २९ :

म्याग्दीको मालिका गाउँपालिका- ३ को पात्ले गाउँमा विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणको म्याग्दी जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने कार्यक्रम मार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेमा बिद्युतीकरण भएको हो । 

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले पात्लेका एक सय २० घरमा केन्द्रिय प्रसारण लाइनको विजुली बलेको जानकारी दिनुभयो ।

दसैको समयमा गाउँमा बिजुली बलेपछि  स्थानीयवासीमा खुसियाली छाएको छ । पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघुजलविद्युत परियोजना, सौर्य उर्जा र टुकीमा निर्भर थिए । 

मालिका –३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रिय लाइनका विद्युत बलेसँगै उज्यालोका साथै स्थानीयवासीको दैनिकी सहज भएको बताउनुभयो ।

विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न र उद्यम व्यवसायको अवसर सिर्जना भएको छ । 

यसअघि गत साउन महिनामा मालिका गाउँपालिकाको वडा नम्बर १, छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, मालिका -३ को लुप्सीपार,  खतेन र मालिका– ४ को ओखरबोटका पाँच सय घरमा केन्द्रिय लाइनको विद्युत सुविधा विस्तार भएको थियो ।  

जिल्लाका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सुविधा विस्तारका लागि ४७. ६ किलोमिटर मुख्य, १२६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र ढुंगाना जेभीसँग तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सोही ठेक्का मार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरीङको काम उपभोक्ता आफैले गरेका हुन् ।