काठमाण्डौँ , असोज ३० :

देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । 

मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।

गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । 

सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कायम रहेको छ । 

काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको र पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको मौसमविद् अधिकारीले  बताउनुभयो ।

काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उहाँको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू- भागका एक- दुई स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । 

रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।