
नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको न्यायिक छानबिन गर्न माग गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले सुनसरी लगाएतका स्थानमा भएका घटनामा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न नसक्ने भन्दै न्यायिक छानबिन गर्न माग गरेको हो ।
उक्त घटनाको छानबिन गरेर सत्य–तथ्य सार्वजनिक हुनुपर्ने र कानुन बमोजिम दोषीलाई कारबाही गर्ने स्थिति बन्नुपर्ने बैठकको निष्कर्ष रहेको बैठकमा सहभागी कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन गर्ने न्यायिक समिति बनाउनुपर्ने मागका साथ प्रतिनिधि सभा र राष्ट्रिय सभामा दलको तर्फबाट अडान राख्ने उहाले बताउनुभयो । यसका लागि अन्य दलहरुसंग पनि सहकार्य गर्ने निर्णय भएको उनको भनाइ छ ।
बैठकले आफ्ना सांसदहरुलाई बिभिन्न जिल्लाको जिम्मेवारी दिएर नागरिकसँग समन्वय गर्ने निर्णय गरेको छ भने निश्चित मापदण्ड बनाएर स्वकीय सचिव प्रस्ताव गर्नका लागि सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको महामन्त्री पौडेलले बताए ।
बैठकले साउन २३ र २४ गते प्रतिनिधिसभा सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।