काठमाण्डौँ , कात्तिक १ :

सुर्खेत लेकबेँसी गाउँपालिका- २ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा- ९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको जनाउँदै प्रहरीले तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका- ५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका- १० कपन बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ६ घर भई हाल बूढानीलकण्ठ- १० कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ तथा इलाम माई नगरपालिका- २ घर भई हाल काठमाडौँ गोकर्णेश्वर- ६ नयाँबस्ती बस्ने २७ वर्षीया विमला भट्टराई रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो करिब ३ः२० बजे गोकर्णेश्वर–६ नयाँबस्ती लस लाइट स्कुल नजिक सार्वजनिक स्थानमा पक्राउ परेकाहरूले फौजामगरलाई कुटपिट गरी कर्तव्य गरी मारेको र उनिहरु वारदातपश्चात् भागी फरार रहेको भन्ने खुल्न आएको हुँदा पक्राउ गरिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

पक्राउ परेकाहरुमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।