
काठमाण्डौँ , कात्तिक २ :
लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ ।
हिजो आयोगले सूचना सार्वजनिक गर्दै उपसचिव ५१० र सहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुला गरेको हो ।
निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ ।
सूचनामा २०८१ मङ्सिर ४ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ । आयोगले हरेक वर्ष असोजको अन्तिम साता सहसचिव र उपसचिवको विज्ञापन खुला गर्दै आएको छ ।